असोज ०२, बारा । सशस्त्र प्रहरीले बाराका विभिन्न स्थानबाट अवैध रूपमा भन्सार छली नेपाल भित्र्याइएका ६ लाख ३१ हजार रुपैयाँ बराबरका कपडा तथा किराना सामग्री बरामद गरेको छ । सशस्त्र प्रहरी बल नम्बर १२ गणका गणपति खुमबहादुर केसीका अनुसार भारत तर्फबाट ल्याउदै गरेको उक्त सामान सीमाक्षेत्रका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो ।

कलैया उपमहानगरपालिका २० बसतपुर स्थित आँप घारी क्षेत्रमा लुकाइ–छुपाइ राखिएको करिब ३ लाख ७५ हजार रुपैयाँ बराबरको कपडा सुरक्षा गस्ती टोलीले बरामद गरेको प्रहरीले जनाएको छ । प्रस्तावित सीमा सुरक्षा गुल्म मटिअर्वाबाट सशस्त्र प्रहरी नायब निरीक्षक दिपेन्द्र रानाभाटको कमाण्डमा खटिएको टोलीले उक्त सामान फेला पारेको हो ।
त्यसैगरी विश्रामपुर गाउँपालिका ३ मुसहर्वा सीमा नजिक पर्ने बिओपी बरैनियाबाट खटिएको टोलीले भारतबाट ल्याउँदै गरेको ४५ हजार ५ सय रुपैयाँ बराबरको सुती धोती र कुर्ता–सुरुवाल बरामद गरेको छ । ४
यस्तै कलैया ७ स्थित दुर्गा उच्च मावि वरपरको क्षेत्रमा भारतबाट अवैध रूपमा भित्र्याइएका किराना सामग्री तथा एक थान मोटरसाइकल पनि नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी उपरीक्षक केसीका अनुसार बरामद गरिएका कपडा तथा अन्य सामग्री आइतबार भन्सार कार्यालय विरगञ्ज पठाईएको छ ।

